गुल्मी जिल्लाका १२ वटा स्थानीय तहहरू मध्ये पूर्वी भागमा अवस्थित यस कालिगण्डकी गाउँपालिका आफैमा प्राकृतिक, सांस्कृतिक सम्पदाहरुले भरिपूर्ण छ l यस गाउँपालिकाको कुल क्षेत्रफल १०१.०४ वर्ग कि.मि. रहेको छ l सालिग्राम पाउने, संसारको सबै भन्दा गहिरो गल्छी भएको पबित्र कालिगण्डकी नदीको नामबाट यो गाउँपालिकाको नामाकरण गरिएको छ । वि.सं. २०७८ मा सम्पन्न राष्ट्रिय जनगणना २०७८ को राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार कालिगण्डकी गाउँपालिका गुल्मीको कुल जनसंख्या १५०४४ (७०७४ पुरूष र ७९७० महिला) रहेको थियो भने २०८२ मा तयार गरिएको गाउँपालिकाको डिजिटल प्रोफाईलको सर्वेक्षण अुसार ३३१३ घरधुरीमा १८,२८३ जनसंख्या रहेको छ र जस मध्ये ९,५७४ जना पुरूष र ८,७०९ जना महिला को संख्या रहेको छ l यो सर्वेक्षण जन्मको आधार (De Jure) मा गरिएको हुनाले अघिल्लो सर्वेक्षणमा पुरूषको संख्या कम भए पनि यो सर्वेक्षणमा बढि देखिएको छ ।
यस गाउँपालिकाको उतरमा बाग्लुङ, पूर्वमा पर्बत, दक्षिणमा स्याङजा र पश्चिममा गुल्मी जिल्ला कै चन्द्रकोट , सत्यवती गाउँ पालिका अवस्थित रहेको छ l ऐतिहासिक कालिगण्डकी नदी तथा थुप्रै सुन्दर पर्यटकीय स्थलहरुले सु-सम्पन्न यो गाउँपालिकामा पर्यटन विकास को प्रचुर सम्भावना रहेको छ l